ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ परेका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ परेका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त


विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

काठमाडौँ, 

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए ।

३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली फेला पर्‍यो । अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा एक अभियुक्तको लकर खोलिएको थियो ।

लकरमा सुनचाँदीजस्ता बहुमूल्य धातु नभई पेस्तोलका गोली राख्ने व्यक्ति कोही नभएर संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामा थिए । गोलीकाण्डमा धरौटीमा छुटेका एमाओवादी सांसद ल्हारक्याल लामा ठगीमा पक्राउ गरेका छन् । अख्तियारको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि प्रहरीलाई जिम्मा लगाएको थियो । 

प्रहरीले ८ दिन थुनामा राखेर अनुसन्धान गरेपछि सार्वजनिक अपराधको मुद्धा चलाएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सांसद लामासँग ६६ हजार ७५० धरौटी माग्यो । र, लामा धरौटी बुझाएर छुटे । तर, कार्यालयको गेटबाट बाहिर निस्कनासाथ वैदेशिक रोजगारीमा ठगीको आरोपमा पक्राउ गरेका छन् । लामालाई प्रहरीले वैदेशिक रोजगार विभागमा लगेको थियो । तर, समय अभावका कारण सम्भव भएन । उनलाई सिंहदरवार प्रहरीको हिरासतमा राखिएको छ । लामाविरुद्ध २०७० सालमा केशबहादुर लामाले वैदेशिक रोजगारीमा ठगीको उजरी दर्ता गराएका छन् ।

वैदेशिक रोजगार विभागमा परेको पुरानो उजुरीेमा छानबिन गर्न लामालाई पक्राउ गरिएको विभागका प्रवक्ता जनक रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार लामाले गरेको ठगीका सम्बन्धमा बुधबारबाट छानबिन सुरु गरिने र सो अवधिमा लामा प्रहरीको नियन्त्रणमा रहनेछ ।

तिनै लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका शान्तिप्रेमीहरुको पवित्र केन्द्र लुम्बिनीको नेतृत्व सुम्पिएका छन् । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी लामालाई सुम्पिएको हो ।

उनले आगामी ५ वर्ष कोषको नेतृत्व गर्ने एक मन्त्रीले बताए । ल्यारक्यालको धार्मिक नाम डा. खेन्पो छिमे छिरिङ हो र सिन्धुपाल्चोक हेलम्बुका बासिन्दा हुन् ।

आपराधिक पृष्ठभूमिका लामाले राजनीतिक संरक्षण भने पाइरहेका छन् । हाल उनी सत्तारुढ माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । दुई वटै संविधानसभामा उनी सदस्य रहेका थिए । 

निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल १० साउनमा पूरा भएको थिो । त्यसपछि शान्तिक्षेत्र लुम्बिनी विकास कोषको नेतृत्वका लागि बौद्ध परम्पराका विशिष्ट व्यक्तित्वहरुले रुचि राखेका थिए । कोषको उपाध्यक्षको नेतृत्वको होडमा गायिका आनी छोइङ डोल्मा, कोषकै पूर्वउपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), सुमार्ग भिक्षु, भिक्षु कुन्डयसहित थिए ।

तर, सरकारले कोषको नेतृत्वका लागि उनीहरुलाई होइन, आपराधिक पृष्ठभूमिका लामालाई योग्य देखेर नियुक्त गर्‍यो ।

प्रधानमन्त्री प्रचण्डकै सोझो हस्तक्षेपमा लामालाई कोषको उपाध्यक्ष बनाइएको स्रोतले अनलाइनखबरलाई बतायो । केही अगाडि उपाध्यक्षको होडमा रहेकी गायिका आनी छोइङ डोल्मासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भेट गर्दै तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । यो पोष्टलाई मन्त्रीको चाहना उपाध्यक्षमा आनी नै रहेको भन्ने सन्देशका रुपमा बुझिएको थियो ।

वैदेशिक रोजगारमा ठगी र भ्रष्टाचारका आरोपी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ सालमा लामाविरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीमाथि झण्डै १० करोड रुपैयाँ भ्रष्टाचारको अभियोग लगाइएको थियो । २०५८ पुस १९ गते गुम्बा विकास समितिमा नियुक्त भएदेखि उनी नेपाल सरकारको राज्यमन्त्री, संविधानसभा सदस्य हुँदै व्यवस्थापिका संसद सदस्यसमेत भइसकेका छन् ।

वास्तविक आयभन्दा ९ करोड ४४ लाख रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ अनुसार जरिवाना र कैद सजाय माग गरिएको थियो ।

विशेष अदालतले सफाइ दिएपछि भने सो फैसलाको सर्वत्र विरोध भएको थियो । त्यो निर्णयपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्नसक्नेमा त्यसो नगरेकाले पनि फैसला राजनीतिक दबाबमा भएको अनुमान गरिएको थियो ।

त्यसअघि पनि लामाको लकरमा १४ राउण्ड गोली भेटिएपछि र वैदेशिक रोजगारी ठगीको आरोपमा समेत गरेर उनी जेल बसेका थिए ।

उनले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि प्रहरीले पक्राउ गरेको थियो ।

अपरच्युनिटी म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ल्यारक्यालसहित फुर्वा लामा र तिरिङडोल्मा लामाविरुद्ध २०६९ भदौमा उजुरी दिएका थिए ।

गुरुङले निवेदनमा ‘ल्यारक्यालकी भाञ्जी भन्ने खिनाले मकाउमा हाउसकिपिङ, क्लिनर, वेटर र सेक्युरिटी गार्डको ३ सय २० जनाको कोटा ल्याइदिने भन्दै पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ ठगी गरेको’ उल्लेख गरेका थिए । कोटा ल्याएबापत कमिसनस्वरुप उनीहरुले सो रकम लिएर आफूलाई ठगेको उनको निवेदनमा छ ।

कांगेस–एमालेबाट उदाए, माओवादीबाट लाभ लिए

लामा कांग्रेस र एमालेको पृष्ठभूमिपछि पछिल्लो समय उनी माओवादीबाट पदक पटक लाभको पदमा पुगेका छन् । झलनाथ खनाल प्रधानमन्त्री बनेका बेला लामा अर्थ राज्यमन्त्री भएका थिए । दोस्रो संविधानसभाको चुनावमा भने तिनै लामा माओवादीको समानुपातिक सूचीमा समेटिए । चुनावपछि समानुपातिक सांसद बनेका थिए ।

२०५८ मा गुम्बा विकास समितिको अध्यक्ष चाहिँ उनलाई कांग्रेसले सिफारिस गरेको थियो । उनी मन्त्री हुँदा समेत दोहोरो नागरिकताको विवादमा फसेका थिए । सोही बेला उनले राजीनामा समेत दिएका थिए ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url